२३ चैत्र, काठमाडौं ।
विश्व कारोना भाइरस (कोभिड–१९) को संक्रमणमा परेको वर्तमान समयमा शिक्षण संस्थाहरु पनि बन्द रहेका छन। नेपाल सरकारको निर्णय अनुसार चैत्र ६ गतेदेखि नेपालभरका शैक्षिक संस्थामा अध्ययन, अध्यापन कार्य बन्द रहेको छ ।
यो समयमा देशका केहि उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुले भने अनलाइन कक्षा सञ्चालन गरिरहेका छन । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलले पनि चैत्र २३ गते (आज) बाट एसईई परीक्षाको तयारी कक्षाहरु अनलाइन मार्फत सुरु गरेको छ ।
लामो समय शैक्षिक संस्था बन्द हुँदा शैक्षिक क्यालेन्डरमा परेको असरलाई मध्यनजर गर्दै विद्यार्थीको आवश्यकता अनुसार हालको लागि एसईई तयरीमा रहेका विद्यार्थीलाई अनलाइन कक्षा सुरु गरिएको प्रिन्सिपल शायरा हमालले बताउनु भयो।

अघिल्लो दुई हप्ताको लागि विभिन्न होम एसाइमेन्ट विद्यार्थीलाई दिइएको र दोश्रो हप्ता सकिनसाथ स्कुलले अनलाइन कक्षाहरु सुरु गरेको स्कुलका इन्चार्ज सरोज शर्माले जानकारी दिनु भयो।
लकडाउन अवधिभर घरमै बसेर विद्यार्थीले आफ्ना शिक्षकहरुसँग इन्टरनेटको माध्ययमबाट पढ्न पाउने हुनाले विद्यार्थीको अध्ययनमा निरन्तरता र परीक्षाको तयारीमा असर नपुगोस् भन्ने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गरिएको जनाइएको छ ।

स्कुलको यस कार्यले विद्यार्थीहरुको खाली समय सही ढंगले उपयोग हुने अभिभावकहरुको बुझाइ रहेको छ । घरमै बसेर आफ्ना शिक्षकहरुसँग पढाइका साथ–साथै आफ्ना अनुभव, धारणा र प्रश्नहरु राखेर अध्ययन गर्न पाउँदा विद्यार्थीहरु पनि खुशी भएका छन् ।
-KTM Khabar